जनज्योतिमा तालाबन्दी क्याम्पस प्रमुख सहित तीन जनालाई प्रवेश निषेध

 सुदुर दैनिक संवाददाता    २०७७, १ श्रावण बिहीबार १४:२८     244 जनाले पढ़िसके


महेन्द्रनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सम्बद्ध अनेरास्ववियुले जनज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरी क्याम्पस प्रमुख प्रकाश जोशी सहित तीन जनालाई क्याम्पस प्रवेश निषेध गरेको छ ।

क्याम्पस प्रमुख जोशी सहित अध्यक्ष प्रमानन्द जोशी र निर्देशक खेमलाल घिमिरेलाई प्रवेश निषेध गरिएको हो ।

क्याम्पस प्रमुख जोशीले केही दिन अघि नेपाली काँग्रेसको भिडियो प्रशिक्षण बिएसडब्लु समूहका विद्यार्थीलाई आदानप्रदान (शेयर) गरेपछि संगठनले उनको राजीनामा माग गरेको थियो । संगठनको माग अनुसार क्याम्पस प्रमुख जोशीले राजीनामा नदिएपछि बिहीबार क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।

क्याम्पस प्रमुख जोशीले यस अघि विज्ञप्ति निकालेर नियतवश नभएर प्राविधक त्रुटीका कारण प्रशिक्षण भिडियो शेयर भएको भन्दै क्षमा मागेका थिए ।

अनेरास्ववियुका नेता कैलाशचन्द्र गिरीले क्याम्पस प्रमुखले पार्टीको प्रशिक्षण भिडियो विद्यार्थीलाई शेयर गर्नु ठूलो कमजोरी भएकाले नैतिककताका आधारमा राजीनामा दिनु पर्ने बताए ।

‘वहाँ क्याम्पस प्रमुख नियुक्त हुँदादेखि नै विवाद छ, त्यसपछि पनि पार्टी प्रशिक्षणको भिडियो नै विद्यार्थीलाई शेयर गरियो,’ उनले भने,‘यो क्याम्पस प्रमुखले गर्ने विषय नै होइन, क्याम्पसलाई राजनीतिक प्रचारको अड्डा बनाउन खोजियो, त्यसैले नैतिकताका आधारमा राजीनामा दिनु पर्छ ।’

अनेरास्वयिुले क्याम्पस प्रमुख जोशीलाई तत्काल पदबाट हटाएर निकास नखोजिए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

अनेरास्ववियुका संयोजक विरेन्द्रराज विष्टले विज्ञप्ति प्रकाशित गरी भिडियो प्रशिक्षण शेयर गरिनु दुःखद भएको भन्दै खेद व्यक्त गरेका छन् ।