छोटो समयमै चर्चित गायिका मेलिना मैनाली

 सुदुर दैनिक संवाददाता    २०७७, ५ श्रावण सोमबार १८:४३     197 जनाले पढ़िसके


केही महिना अगाडि नेपाली सांगीतिक बजारमा एउटा कारुनिक गीत आयो “छोटो छ जिन्दगी”, फोटो खिचेर राख। समाजको यथार्थ कारु’निक चित्रण बोकेको उक्त गीत बजारमा आएको छोटो समयमै दर्शक स्रोताको मनमा बस्न सफल भयो।

चर्चित गायक भुपु पाण्डेको अफिसियल युटुब च्यानलबाट सार्वजनिक उक्त गीतमा आवाज रहेको छ भुपु पाण्डे र मेलिना मैनालीको। गीत सार्वजनिक भएलगत्तै गीतमा समावेश भुप र मेलिनाको स्वरलाई चौतर्फी तारिफ मिल्यो। मेलिनाको उक्त गीत जीवनको पहिलो गीत हो। गीतमा मेलिनाको मिठासयुक्त आवाज सुन्दा उनी परिपक्व गायिका हुन जस्तो आभास हुने गर्छ।

पहिलो गीतबाटै चौतर्फी तारिक अनि चर्चा पाएकी मेलिना झापाको चन्द्रगढी स्थित लक्ष्मी चोक बस्छिन् । सानैदेखि गायिका बन्ने रहर बोकेर गीत गुनगुनाउने उनी परिवारकी कान्छी छोरी हुन् । ३/४ वर्षको उमेरदेखि नै गीत गुनगुनाउन सुरु गरेको उनी बताउँछिन् ।

सानोमा प्राय लोकप्रिय गायिका अन्जु पन्तको गीत बढी सुन्ने अनि गाउने गर्थिन मेलिना। रेडियो एकदम धेरै गीत सुन्ने गर्थिन अनि आफ्नो पनि यस्तै रेडियोमा कहिले गीत बज्ला भनेर मनमा मेलिना कुरा खेलाउने गरेको मेलिन सम्झिन्छिन।

विद्यालयमा हुने विभिन्न सांस्कृतिक कार्यकममा पनि शिक्षकहरुसँग आफुलाई गाउन दिन आग्रह गर्दै आफ्नो सुमधुर आवाज सुनाउने गर्थिन उनी। उनको स्वर सुनेर साथीहरुले पनि राम्रो छ भन्दै हौसला दिन्थे। जसका कारण उनीमा गायिका बन्ने रहरको तृष्णा बढ्दै गयो।

पढाइमा पनि मिहिनेती मेलिनाले वि. सं २०७४ सालमा एसईईको परीक्षा दिइन् । परीक्षा दिइसकेपछिको खाली समयमा संगीत सिक्ने योजना बनाइन उनले। संगीत सिक्नलाई उनी बसोबास गर्ने वरपर संगीत शिक्षालय थिएनन् । संगीत सिक्नका लागि घरबाट करिव १ घण्टा बढी गाडिको यात्रा गर्दै झापाको विर्तामोड बजार जानू पर्थ्यो।

एकदिन उनी आफ्नो आमासँग विर्तामोड बजार गईन। बजारमा संगीत सिक्ने ठाउँ खोज्दै गर्दा उनले दिपक रायमाझीको संगीत प्रशिक्षालय भेटाइन। दिपक रायमाझी विर्तामोडमा संगीत सिकाउँछन। अन्ततः मेलिनाले दिपक रायमाझीसंग संगीत सिक्न सुरु गरिन।

तर विडम्बना उनले नियमीत संगीत चाहिँ सिक्न पाइनन। सधै जस्तो १ घण्टा गाडी भाडा तिरेर विर्तामोड जान उनलाई समस्या पर्यो। घरको आर्थिक अवस्था कमजोरका कारण विर्तामोडमै भाडामा बसेर संगीत सिक्नलाई पनि उनलाई एकदमै समस्या पर्‍यो।

नियमित संगीत गुरु कहाँ जान नसकेपनि कहिलेकाहिँ गएर सिकेको कुरा घरमै रियाज गरेर अभ्यास गर्ने गरेको मेलिना बताउँछिन् । मनमा ठूलो गायिका बन्ने रहर एकातिर अनि घरको आर्थिक अवस्था कमजोर अर्कोतिर । यो कुराले मेलिनाको मन एकदमै पिरोल्ने गर्थ्यो।

पैसाको अभावका कारण गीत रेकर्ड गराउन सक्दिन होला भन्ने सोच आइरहँदा एकदिन उनलाई एउटा राम्रो अफर गीत गाउनलाई। त्यो अफर गरेका थिए अहिलेको चर्चित गीत “छोटो छ जिन्दगी” का गायक तथा संगीतकार भुपु पाण्डेले । मेलिनाका दाइ विनोद मैनाली भुपु पाण्डेसंग फेसबुकमा साथी थिए।

फेसबुकमा कुरा भइरहँदा खेरी एकदिन आफ्नो बहिनीको पनि राम्रो स्वर भएको र गायिका बन्ने रहर भएको कुरा भुपुलाई सुनाए। भुपुले पनि बहिनीको स्वर कस्तो रहेछ त भनेर सुन्ने इच्छा गरे।

बिनोदले मेलिनाको स्वर मेसेन्जरबाट पठाए। मेलिनाको स्वर सुन्ने बित्तिकै भुपुले उनको आवाज मन पराए। यो कुरा २ वर्ष अगाडि मेलिनाले एसईई दिइसकेपछिको कुरा हो। जुनबेला मेलिना घरमै बसेर गीत गुनगुनाउने गर्थिन।

भुपुले पनि मेलिनाको मखमली स्वरलाई उचित स्थान दिनुपर्छ भन्ने ठानेर आफ्नो नयाँ गीतमा अवसर दिने सोच बनाए। अन्ततः भुपुले आफ्नो नयाँ गीत “छोटो छ जिन्दगी” मा मेलिनाको स्वर समावेश गर्ने निधो गरे। यो कुराले मेलिनाको जीवनमा हर्ष निम्त्यायो। खुसीले गदगद भइन मेलिना। परिवारमा पनि छोरीको पहिलो गीत रेकर्ड हुने कुराले मेलिनाको आमा बुवा एकदम खुसी हुनुभयो ।

गीत रेकर्ड गर्न मेलिना काठमाडौं जानू पर्ने सल्लाह भयो।तर काठमाडौं जान-आउन खर्च हुने पैसा पुग्ने होकि होइन भन्ने कुरामा चिन्तित थिइन मेलिना।

“आमाले बाख्रा बेचेर जोहो गर्नुभएको पैसा दिएर मलाई काठमाडौं गीत रेकर्डको लागि पठाउनुभयो। काठमाडौं जाँदा गाडिको सिटमा एकदम टोलाएँ। आमाको त्यो माया देखेर भावुक भएँ। कहिले होला मैले गीत गाएर मेरी आमाको हातमा पैसा राखिदिने। कहिले होला म एउटा राम्रो गायिका बन्ने । यस्तै यस्तै कुरा खेलाउँदै रुँदै रुँदै काठमाडौ पुँगेको थिएँ त्योबेला”, मेलिनाले भावुक हुँदै भनिन् ।

काठमाडौं पुगेपछि गायक भुपु पाण्डेले उनिप्रती असल अभिभाकत्व निर्वाह गरे। उनको गीत रेकर्ड गराउने सपना भुपु पूरा गरिदिए। गीत रेकर्ड गर्दा पनि स्टुडियोमा उनले आफ्नो स्वरको तारिफ पाइन् । गीत रेकर्ड पश्चात् उनी पुनः झापा फर्किइन। गीत बजारमा आउने आसा अनि उमंगमा आफ्नो प्लस टुको पढाइ सुरु गर्न थालिन् ।गीत आउला आउला भन्दै २ वर्ष वित्यो, तर गीत बजारमा निस्केन। यो कुराले फेरि मेलिना दुखित भइन।

गीत आउँदैन होला जस्तो लागेको र आफ्नो गायिका बन्ने रहर पूरा नहोला भन्ने कुराले मनमा पिर परिरहेको उनी बताउँछिन् । यताभने “छोटो छ जिन्दगी” गीत रिलिन गर्नुभन्दा अगाडि हेमन्त रानाको “सुन साइली” बजारम रिलिज भयो।

साइली र छोटो छ जिन्दगीको कथा एउटै एउटै मिल्न गएपछि भुपुले तत्काल गीत रिलिज नगर्ने सोच बनाए। सुन साइली गीत भन्दा अगाडीनै गीत रेकर्ड भएपनि स्रोता दर्शकले साइली गीत कपि गर्न खोजेको भन्ने बुझ्छन् कि भन्ने मनसायले गीत रिलिजलाई पेन्डिङमा राखे।

अन्ततः अछाम र भारतका केही स्थानहरुमा छायांकन गरिएको कारुनिक कथाले भरिएको “छोटो छ जिन्दगी” गीत रिलिज गरे। गीत रिलिज भएपछि मेलिनाको मुहारमा हर्ष छायो। छोटो समयमै गीतले चर्चा पायो। एकदम राम्रो प्रतिक्रिया आएको र अन्य गीत गाउन अफर अहिले आइरहेको, गाउँमा मेलिनाको आवाज सुन्दा सबै आफन्त खुसी भएको मेलिना बताउँछिन् ।

चौतर्फी राम्रो प्रतिक्रिया मिलेपछि मेलिनालाई यतिबेला संगीत क्षेत्रमा अघि बढ्न हौसला मिलेको छ। उनी भन्छिन्,”भुपु दाइले दिनुभएको यो अवसर म जीवनभर भुल्दिन।

पहिलो गीतका कारण रेकर्डिङ स्टुडियो कस्तो हुन्छ, कसरी गीत गाउनु पर्छ, कसरी गीत रेकर्ड हुन्छ लगायतका धेरै कुरा सिक्न पाँए। जुन पहिलो गीतबाट नसोचेको राम्रो प्रतिक्रिया पाएँ। यो सब दर्शक स्रोताको माया पाउनुमा भुपु दाइको ठूलो हात छ।”

हाल १२ मा अध्ययन गरिरहेकी मेलिनाको परीक्षा कोरोना अनि लकडाउनका कारण स्थगित छ। अन्य गीतहरुको लागि अफर आएपनि लकडाउनका कारण काठमाडौं जान नसकेको उनी बताउँछिन् । लकडाउन खुलेपछि र १२ कक्षाको परीक्षा भएपछि काठमाडौं गएर संगीत सिक्ने र आफ्नो पढाइलाई अगाडि बढाउँदै संगीत क्षेत्रमा संघर्ष गर्ने मेलिनाको योजना छ।

छोटो छ जिन्दगी गीतमा भनिएझैँ मुटु थिचेर झापाको गाउँमै दबेको उनको आवाज अब संसारभर फैलिने क्रमामा छ। उनको पहिलो गीत सुनेर राम्रा राम्रा संगीतकारले समेत उनीसंग सहकार्य गर्न चाहेका छन्