तत्काल कक्षा ११ को परीक्षा मिति सार्वजनिक नगर्न निर्देशन

 सुदुर दैनिक संवाददाता    २०७७, २३ श्रावण शुक्रबार १३:३४     136 जनाले पढ़िसके


काठमाडौ – कतिपय विद्यालयले कक्षा ११ को परिक्षा मिति सार्वजनिक गर्न थालेपछि राष्ट्रिय परीक्षा बोर्डले अहिले नै परिक्षाको मिति सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको छ। कोरोना कारण सरकारले हालसम्म विद्यालय पुनःसञ्चालनको निर्णय नगरिसकेको अवस्थामा विद्यालयले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गर्दा विद्यार्थी तथा अभिभावकमा त्रास सिर्जना भएको भन्दै बोर्डले शुक्रबार एक सूचना जारी गरी सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको हो।

‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको छ’, बोर्डले जारी गरेको सूचनामा भनिएको छ- ‘सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सृजना हुन गएकोले सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्नुरनगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।’

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविविधि,२०७७ भएअनुसार कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नपूर्व र नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नुअगाडि विद्यालयको अनुकूलता सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालयले नै सञ्चालन गर्नुपर्ने व्यवस्था छ।