पिसिआर मेसिन मात्रै ल्याएर हुन्छ ? करोडौंका अन्य उपकरण र प्राविधिक कसले ल्याउछ ?

 सुदुर दैनिक संवाददाता    २०७७, ८ भाद्र सोमबार ११:५०     141 जनाले पढ़िसके


महेन्द्रनगर / ०७ भदौ कञ्चनपुरमा पिसिआर मेसिन पुगेको एक हप्ता भयो । भीमदत्त नगरपालिकाले ३८ लाखको लागतमा उक्त मेसिन खरिदका लागि टेन्टर आह्वान गरेको थियो । सोहि अनुरुप सुदिप इन्टरनेश्नल प्रालीले उक्त पिसिआर मेसिन र पिसिआर टेब्लेट खरिद गरेर महेन्द्रनगर पुर्याएको हप्तादिन भइसक्यो ।

मेसिन आए पनि सञ्चालनमा ल्याउनका लागि प्राविधिक र अन्य उपकरणहरुको अभाव रहेको छ । मेसिन पुगेको हप्ता दिन बितिसक्दापनि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई हस्तान्तरणको कुनै वास्ता गरेको छैन । कोरोना भाइरस (कोभिड–१९) परिक्षणको दायरा बढाउनका लागि मेसिन खरिद गरिए पनि त्यसको कुनै औचित्य देखिएको छैन् ।

कञ्चनपुरमा आइतवार १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लामा बढ्दो रुपमा कोरोना संक्रमित भेटिन लागेको तथ्य जगजाहेर नै छ । तर पनि पिसिआर मेसिन देखाउनकै लागि ल्याएको भान जनमानसमा पर्न गरेको छ । जिल्लामा भारतबाट भित्रिने नेपालीहरुको लर्को छ ।

अर्को तर्फ क्वारेन्टिनमा बसेकाहरुको जमान बढ्दै गइरहेको छ । यस्तो अवस्थामा सम्बन्धित निकायहरुले ती व्यक्तिको कोरोना परिक्षणको दायरा र समयलाई व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन् ।
भीमदत्त नगरपालिकाले ३८ लाखमा पिसिआर मेसिन जिल्लामा भित्र्याए पनि सञ्चालनमा भने तत्कालै ल्याउन सक्ने अवस्था छैन ।

पिसिआर मेसिन सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने अन्य उपकरणहरुको कुनै जोहो छैन । सम्बन्धित अन्य उपकरणहरु मात्रै पनि खरिदका लागि एक करोड भन्दा बढी बजेट आवश्यक पर्छ । त्यो बजेट कहाँबाट व्यवस्थापन गर्ने त्यसको आजको मिति सम्म कुनै टुंगो छैन् ।

भीमदत्तले महाकाली अस्पताल संग अन्य उपकरण र सञ्चालनका लागि दक्ष जनशक्तिको अवस्था बारे कुनै जानकारी नै नराखी पिसिआर मेसिन खरिद गर्यो, तर आज त्यो मेसिन यस्तो अवस्थामा एउटा बन्द कोठाको परिधीमा छ । सञ्चालनका लागि जनशक्ति छैन । अन्य उपकरण छैनन । यसले जनतामा नगरपालिकाले कुनै न कुनै खुरापातीका साथ मेसिन खरिद गरेको संज्ञा दिएको छ ।

मेसिन ल्याएर कोरोना परिक्षणको दायरा बढाउने नै नगरपालिका र अन्य सम्बन्धित निकायको ध्येय हो भने, प्राविधिक (दक्ष जनशक्ति) र सम्बन्धित अन्य उपकरणहरु ‘हायर’ गरेर समेत ल्याउन सकिने स्थानीय बुद्धिजिवीहरुको राय छ । सुदूर पश्चिम पदेश सरकारले पिसिआर मेसिन सञ्चालनमा ल्याउनका लागि अन्य उपकरणको बन्दोबस्त गर्न सक्ने तर प्रदेश सरकार संग कुनै समन्वय नै नभएको स्रोतले जनाएको छ ।

महाकाली अस्पतालमा महिनौ अगाडी आएर बन्द कोठामा थन्किएको भेन्टिलेटरको झै अवस्थामा एक साता देखि भीमदत्त पिसिआर मेसिन छ । स्थानीयका युवाका अनुसार कमिसनका लागि पुर्वाधार र तयारी बिना उक्त मेसिन ल्याइयो । मेसिन पुग्यो । कमिसन पाइसके होलान् । कसरी सञ्चालनमा आउछ मेसिन ?