पुष्पलाई पनि म्यूजिक भिडियोकै भर

 सुदुर दैनिक संवाददाता    २०७७, ६ आश्विन मंगलवार १५:३९     21 जनाले पढ़िसके


नायक पुष्प खड्का अभिनित चलचित्र ‘मारुनी’ रिलिज भएको १ बर्ष भयो । यो एक बर्षमा पुष्पले एउटा मात्र चलचित्रको छायांकन गरे, ‘चालबाज’ । पुष्पले नयाँ चलचित्रको बिषयमा कुरा भैरहेको केही समय अगाडि अनलाइनखबरलाई बताएका थिए ।

लकडाउनपछि अधिकांश चलचित्रका कलाकारका लागि आम्दानीको मुख्य श्रोत म्यूजिक भिडियो नै बनेको छ । चलचित्र रिलिज नहुँदा कलाकार भिडियोमा व्यस्त छन् ।

भिडियोमा व्यस्त हुने, कलाकारमा नायक पुष्प खड्का पनि पर्छन् । चलचित्रमा फरक अभिनय गर्न सिपालु यी नायकले म्यूजिक भिडियोमा आफूलाई रोमान्टिक रुपमा प्रस्तुत हुने गरेका छन् ।

लामो समयसम्म चलचित्रमा नआउँदा दर्शकले विर्सेलान् कि भन्ने डर त कलाकारलाई एकातिर छदै छ अर्कोतिर, आम्दानीको श्रोत पनि राम्रो भएकाले उनीहरु भिडियोतर्फ आकर्षित भएका हुन् । पुष्पले अभिनय गरेका भिडियोहरु एकपछि अर्को रिलिज भैरहेका छन् ।

नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत छायांकन भएको चलचित्रको बाँकी काम सुरु हुन सकेको छैन ।

चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुन सकेन । चलचित्रको छायांकनको काम नै कहिलेबाट सुरु हुन्छ पक्का छैन । चलचित्रका मुख्य नायक अनमोल केसी लकडाउन भएपछि घरमै छन् । उनले लकडाउन खुकुलो भएपछि केही चर्चित कम्पनीका विज्ञापनमा काम गरे ।

नायक अनमोल केसी अहिले आफ्नो नयाँ चलचित्र ‘पारस’को स्क्रिप्टमा ध्यान दिइरहेका छन् । माधव वाग्लेले निर्देशन गर्ने यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्दैछ । अनमोलका अनुसार, चलचित्रको स्क्रिप्टलाई अझै बलियो बनाउन सकिन्छ कि भनेर काम भैरहेको छ । उनी, यो चलचित्रमा काम गर्नका लागि उत्साहित पनि छन् ।

अनमोल अहिले दैनिक स्क्रिप्ट लेखकसँग घरमै नयाँ केही गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन् । चलचित्रको कथा बलियो बनाएको खण्डमा जस्तो अवस्थामा पनि दर्शकले मन पराउने विश्वास उनको छ ।

चलचित्रको कथावस्तु बलियो भएकै कारण निर्माता भूवन केसीले निर्देशक माधव वाग्लेसँग सहकार्य गरेका हुन् । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकिएपछि अनमोलले ‘पारस’को काम सुरु गर्ने योजना बनाएका छन् ।